श्रमशोषण गरिएको भन्दै डाक्टर र नर्सद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

रिपोर्ट नेपाल | 2018 Jun 22 | 03:14 pm 4105

काठमाडौं, असार ८ : नर्स र अध्ययनरत डाक्टरहरुको समूहले स्वास्थ्य मन्त्रालय घेराउ गरेको छ । शुक्रबार आफूहरुमाथि श्रमशोषण गरिएको भन्दै उनीहरूले स्वास्थ्य मन्त्रालय घेराउ गरेको हो ।

नर्सहरूले गत माघमा ११ बुँदे माग सार्दै एक साता आन्दोलन गरेका थिए । उक्त माग अझै पुरा नभएको भन्दै शुक्रबार उनीहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका हुन् । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थामा स्नातकोत्तर पढिरहेका डाक्टरहरु पनि बिभिन्न मागसहित मन्त्रालय पुगेका छन्।

मन्त्रालयले माग पुरा गरिदिन्छु भन्दै झुलाएको नर्स समूहको आरोप छ। नर्सहरुले अधिकारसहितको नर्सिङ सेवा महाशाखा बनाउनुपर्ने, अस्पतालमा नर्स बिरामीको अनुपात मिलाउनुपर्ने, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई तहगत हिसाबले तलब दिनुपर्ने, स्वयंसेवक नर्सको नाममा नर्सहरुमाथि भइरहेको श्रमशोषण बन्द गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षा दिनुपर्ने, श्रम ऐन २०७४ सबै स्वास्थ्य संस्थामा लागू गर्नुपर्ने माग राखेका थिए। सरकारले हालसम्म एउटै माग पुरा नगरेको नर्स समूहले जनाएको छ।माग पुरा नभए फेरि पनि आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। नर्सिङ संघको तथ्यांक अनुसार देशभर ७४ हजार नर्स छन्।

यस्तै अध्ययनरत डाक्टरहरुले सरकारले आफुहरुलाई ‘कमारो’ मात्रै बनाएको आरोप लगाएका छन्।
सरकारी छात्रवृत्ति लिएर पढेका डाक्टरले दुर्गममा पाँच वर्ष काम गर्नुपर्ने चिकित्सा शिक्षाको नियम छ। दुर्गममा पठाउँदा स्वास्थ्य पूर्वाधार भएको ठाउँमा मात्रै पठाउनुपर्ने डाक्टर समूहको माग छ, त्यस्तै दुर्गम सेवाअवधि पनि दुई वर्षमा झार्नुपर्ने उनीहरूको माग छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.