शेखर विरासत फर्काउने र पण्डित साख जोगाउने कसरतमा

| 2022 Nov 14 | 07:55 am 1065

माेरङ, कात्तिक २८ः निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिस्पर्धाका रूपमा हेरिएको विराटनगर–६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्रनम्बर ६ मा डा. कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन् । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।२०७४ को चुनावमा ६ सय ७५ मतान्तरले मात्रै अघि पछि भएका यिनै प्रतिष्पर्धी फेरि पनि मैदानमा उत्रिएपछि यो क्षेत्रलाई चासोका साथ हेरिएको मोरङका स्थानीयहरू बताउँछन् ।

गत निर्वाचनमा कोइरालालाई पछि पारेका तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत पाएका थिए भने डा. कोइरालाको पक्षमा ३३ हजार २ सय ६६ मत आएको थियो । उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यसपटक डा. कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित सशंकित देखिन्छन् । मुलुकका तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभई सदन प्रवेशको कसरतमा रहेको बताउछन् ।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भने –‘मोरङबासी मात्र नभई मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ ।’ यसपटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उनको बुझाइ छ । ‘अहिले हामी एक छौं’, उनले भने– ‘गठबन्धन एकढिक्का छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ ।

अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यक्ता पूर्ति गर्न मङ्सिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’

विराटनगर प्रजातन्त्रको जग भएकाले यसपटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले बताए । उनले नेपाल समाचारपत्रसँग भने– ‘यो प्रजातन्त्रको जग हो, पवित्र मन्दिर हो । कृष्णप्रसाद, बीपी, जीपी र अब डा. शेखर, डा. शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ । इतिहास जोगाउनुहुन्छ । यसपालि जनमत उहाँहरूको पक्षमा आउनेमा हामी ढुक्क छौं ।’

डा. कोइरालाका प्रतिस्पर्धीका रूपमा रहेका एमाले नेता लालबाबु पण्डित चुपचाप चुनावी माहोल बनाइरहेका छन् । धेरै तडकभडक नदेखाई उनी आफ्ना कार्ययोजनाहरू घरघरमा बाँडिरहेको भेटिन्छन् । पण्डितले भने– ‘म काम गर्ने व्यक्ति हुँ । अहिलेसम्म गरेका काम हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ । २० महिना मन्त्री हुँदा कति व्यस्त थिएँ होला तर मैले मेरो क्षेत्रका मतदातासँग भेट्न छाडिनँ ।

म प्रति मतदाताको कुनै गुनासो छैन । कामप्रति सन्तुष्ट छन् । सुखदुःखमा सँगै छु । असन्तुष्ट हुने अवसर नै दिएको छैन । त्यसैले यसपटक पनि चुनाव जित्छु भन्नेमा छु ।’ आगामी निर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार डा. कोइरालासँगको लडाइँमा सफल हुने कुरामा उनी ढुक्क भने देखिएका छैनन् । यस क्षेत्रमा पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट नभएको स्थानीय नेता कार्यकर्ताहरू नै बताउँछन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.