शुभकामना कोरोनाबीचबाट

| 2020 Apr 09 | 01:43 pm 2934

अत्यासबीचको मन, अभावबीचको दैनिकी,
भोक, शोक अनि महामारीको भयबीचबाट उदाउँदो नव वर्ष,
न खुशी न त कुनै उल्लास,
फगत निराशा र अन्यौलता,
खै, कसरी भनुँ साहेब ? शुभकामना नव वर्षको ।
पोहोर भनेको अनि परार पनि,
वर्षौंदेखि भनिरहेको शुभकामना नव वर्षको,
तर अहिले भन्ने कुनै जोश र जाँगर छैन साहेब,
निसास्सिएका छन् मानव मन र मष्तिस्कहरु,
लर्बराएका छन् पाइलाहरु भोक र प्यासले,
छट्पटिएका छन् गृहिणीहरु बच्चाहरुले आमा भोक लाग्यो भन्दा,
तड्पिएका छन् बाउहरु घर चलाउन नसकेर
बाहिर रोग छ, भित्र भोक र भोकको शोक,
खै, कसरी भनुँ साहेब? शुभकामना नव वर्षको ।
बितेका छन् पलहरु सबैका यहाँ यसै गरी,
आतुर छन् मनहरु अब के हुन्छ जान्न,
सबैको चिन्ता छ एउटै अब लैजान्छ महामारीले,
कि त मरिन्छ भोकले,
अब के के हुने हो,
यो बेला म धेरै जान्ने भएर,
अजम्बरी जस्तो बनेर,

खै, कसरी भनुँ साहेब? शुभकामना नव वर्षको ।
आतंकित छ दुनिया कोरोनादेखि,
खै, कसले गर्‍यो गल्ती?
मानव वा प्रकृति?
को हो पापी र बदमास, प्रकृति वा मानविय विज्ञान?
जो होस् सत्यनाश होस् त्यो पापी र बदमासको,
खै, कसरी भनुँ साहेब? शुभकामना नव वर्षको ।
टाढिएका छन् यहाँ नजिकका मनहरु,
संकुचित छन् खुल्ला हृदयहरु पनि,
चिसिएको छ यहाँ भावानात्मक सम्बन्ध पनि,
प्रेमि प्रेमिका हो वा श्रीमान श्रीमतीहरु,
भागेका छन् असल मित्र र दोस्तहरु केही पर,
खै, कसरी भनुँ साहेब? शुभकामना नव वर्षको ।
नव वर्ष!
तिम्रो आगमनसँगै,
बहिर्गमन होस् कोरोना,
लामो सास खिचोस् मानव जगतले,
रोग, भोक र शोकमुक्तिको दुत बनेर आउ तिमी ,
त्राश र खतरामुक्त बनेर आउ,
मानवमा मानवताको खडेरी लागेको बेला,
खोपडी भर्न सक ।

राजनीतिक बेइमानी र गद्दारीको
अन्त्य गरिदेउ,
हुनेखाने र हुँदाखानेको खाडल पुर्न सक ।
नव वर्ष,
उफ……… कति विकराल हुनेछन् अबका दिनहरु,
सजिलै बाँच्ने अवसर जुटाइदेउ,
कृतिम अभाव, कालो बजारी र अधर्मीकोहरुको,
कालो मन हटाइदेउ ।
डर र शोकले त्रसित मनहरुलाई,
अभाव र भोकले उजाडिएका जनहरुलाई,
भर्खरै वसन्तले हराभरा पारेको वन पाखा जस्तै,
त्रिशुली नदीको सिंचित क्षमता जस्तै,
हराभरा, रसिलो र उर्वरा बनाउन सक,
तिमीलाई कोटी कोटी नमन्,
कोटी कोटी प्रणाम,
अनि सम्पुर्ण साहेबहरुमा शुभकामना नव वर्षको ।
नरेन्द्र बहादुर अर्याल (थकित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.