‘शिक्षा क्षेत्र जागिर खाने ठाउँ हैन, राष्ट्र बनाउने ठाउँ हो’ : मन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2019 Jan 16 | 03:16 pm 1742

रामेछाप, माघ २ : शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्र जागिर खाने नभई राष्ट्र बनाउने ठाउँ भएको बताएका छन् । भूकम्प राष्ट्रिय सुरक्षा दिवसको अवसरमा रामेछापको लखनपुरमा पुनर्निर्माण भएका कालिका मावि र भिमेश्वर माविको नवनिर्मित भवन उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री पोखरेलले बालबालिकाहरुको भविष्य माथि खेलबाड गर्ने अधिकार नभएको बताए । उनले भने, ‘सक्नुहुन्छ बालबालिकाहरुको भविष्य बनाउनुस्, सक्नुहुन्न बिदा भएर जानुस् ।’

कार्यक्रममा बोल्दै पोखरेलले भूकम्पीय जोखिम जहिल्यै पनि आउने भएकाले विद्यालय, स्वास्थ्य संस्था र अन्य भवनहरु भूकम्प प्रतिरोधि सुरक्षित बनाउने अभियान सञ्चालन गरेको बताए ।

उनले पछिल्लो समय सामुदायिक विद्यालयको संरचना निर्माणका लागि करोडौं लगानी गरेकोले त्यसको संरक्षणमा स्थानीयले सहयोग गर्नुपर्ने बताए । ‘विद्यालयका भवन राम्रो भएर मात्र पुग्दैन’ पोखरेलले भने, ‘सबैको ध्यान बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिलाउनमा हुनुपर्छ ।’

स्थानीय सरकार र शिक्षा क्षेत्रमा केही अन्तरविरोध देखा परे पनि त्यसलाई समन्वयात्मक ढंगलले सल्टाउनु पर्ने बताए । उनले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने बताउँदै अभियानको रुपमा तयारी गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.