शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउन मुख्यमन्त्रीकाे जाेड

रिपोर्ट नेपाल | 2022 Mar 22 | 04:45 pm 1909

पर्वत, चैत ८ः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अबकाे शिक्षा वैज्ञानिक र व्यवहारिक हुनुपर्ने कुरामा जाेड दिएका छन् । मुख्यमन्त्री नेपालीले उक्त कुरा पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन गर्दै बताएका हुन् ।

नेपालीले आयआर्जन मुलक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै साेही अनुसार अघि बढ्नुपर्ने बताए । सामुदायिक विद्यालयमा भौतिक संरचना बढ्दै जाने तर विद्यार्थीको संख्या घट्दै जाने गरेको बताउँदै मुख्यमन्त्री नेपालीले विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका थिए । सामुदायिक विद्यालयहरुको पढाई निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने उनको भनाई रहेको छ ।

मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले शिक्षामा गुणस्तर कायम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताएका थिए। कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि जलजला गाउँपालिकाले शिक्षामा ठुलो लागनी गरेको जानकारी दिँदै अन्तराष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिक्षा विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवाहरुलाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता विप्लव हमालले विद्यालयको शैक्षिक अवस्थावारे जानकारी गराउँदै समाज परिवर्तनमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । अध्यक्ष हमालले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्नुपर्ने मुख्य दायित्व नागरिकमा रहेको बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणत्मक सम्बन्धले नै विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने बताएका थिए। शिव माविलाई जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गराउन आफु लागि परेको पनि हमालकाे भनाइ रहेकाे थियाे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता नवराज गुरुङ, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, विद्याज्याेती मा.विका प्रधानाध्यापक रघु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरेमवहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालय प्रधानाध्यापक रत्नवहादुर केसीले बिद्यालयको परिचयात्मक पृष्ठभूमि सहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.