दोलखा, साउन ८: झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दाबा के शेर्पाले गत २९ जेठमा सुदीपलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए । कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो । कुटपिटपछि घाइते भएका बालक सुदीपलाई चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा तीन दिन तथा सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा १-१ दिन राखेर जुँगुस्थित घर लगिएको थियो ।
तर, घरमा एक्कासि गम्भीर बिरामी परेपछि सुदीपलाई १६ असारमा हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । सुरुमा ग्रान्डी अस्पतालमा उपचार गरेपछि उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । शिक्षण अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको हो।
सुदीपका परिवार र आफन्तले शिक्षक शेर्पाको कुटाइबाटै उनको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति र पीडकमाथि कारबाही माग गरेका छन् । तर, सुदीप अध्ययनरत विद्यालयले भने आफ्ना शिक्षकको कुटाइका कारण मात्रै मृत्यु नभएको दाबी गरेको छ।
सो विद्यालयका प्रधानाध्यापक सूर्यकृष्ण श्रेष्ठका अनुसार बालक सुदीपको मृत्यु ‘भ्यास्कुलिटिज र मेनिङगोयन्सफ्यालिटी’ नामक रोगका कारण भएको बताए । ‘बालक सुदीपको मृत्युमा शिक्षक शेर्पाको मात्र दोष देखिन्न, उनमा गम्भीर प्रकृतिको रोग पनि रहेछ,’ प्रधानाध्यापक श्रेष्ठले भने ।
मृतक बालकका मामा शंकर बस्नेतका अनुसार सुदीपको उपचारका क्रममा करिब १० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलले २ लाख ७१ हजार र यातना दिने शिक्षक शेर्पाले १ लाख ६६ हजार बेहोरेका खबर राजधानी दैनिकमा छ।
शिक्षकको यातनाकै कारण आफ्नो छोराको मृत्यु भएको भन्दै सुदीपका बाबु महेश बस्नेतले यातना दिने शिक्षकलाई कर्तव्य ज्यान मुद्दासरहको सजाय हुनुपर्ने माग राखेका छन् । साथै सम्पूर्ण उपचार खर्च यातना दिने शिक्षक र विद्यालयले बेहोर्नुपर्ने बताएका छन्। उनीहरूले कारबाही र क्षतिपूर्तिको माग गर्दै मृतक सुदीपको शव बुझ्न मानेका छैनन् । यातना दिने शिक्षक शेर्पालाई भने दोलखा प्रहरीले हिरासतमा राखेको छ ।