शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञकाे सुझाव

| 2021 Jun 02 | 07:05 am 2849

काठमाडौँ, जेठ १९ः कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उनीहरूको भनाइ छ ।

धुलिखेल अस्पतालका फिजियोथेरापिस्ट काजल कुँवरले सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी समस्या भए फिजियोथेरापी गर्न सुझाव दिए । सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ । व्यायाम वा मेसिनको माध्यमबाट उपचार गर्नु फिजियोथेरापी हो । यो कसरत नै हो । यसो गर्दा फोक्सोले राम्रो काम गर्नुका साथै श्वासप्रश्वासमा पनि सजिलो हुने उनले जानकारी दिइन् । फिजियोथेरापीले श्वास फेर्न सजिलो हुने मात्र नभई तनावबाट पनि आराम पाउन सकिने उनले बताइन्।

उनले थपे, “सङ्क्रमित व्यक्ति आत्तिने हुनसक्छ, यसले शरीरमा अक्सिजनको मात्रा कमी गराउँछ । सङ्क्रमित भइहालेमा ध्यान गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पुर्याउँछ ।”

अस्पतालमा रहेका सङ्क्रमितलाई नियमित व्यायाम गराउने गरेको उनले बताइन्। “नाकबाट लामो सास तान्ने, केही सेकेन्ड रोकेर मैनबत्ती फुकेको जसरी विस्तारै श्वास बाहिर फाल्नुपर्छ । यसो गर्दा फोक्सोमा बढी अक्सिजन पुग्छ र सजिलो महसुस हुन्छ,” उनले स्पष्ट पारिन् । एउटा हात छातीमा र अर्को हात पेटमाथि राखेर पेट फुल्ने गरी लामो श्वास तान्ने र केही सेकेन्ड रोकेर मुखबाट फाल्ने गर्दा पनि राम्रो हुने उनले बताइन् ।

फोक्सोमा जम्मा भएको खकार निकाल्ने कसरत पनि गर्न आवश्यक भएको फिजियोथेरापिस्ट कुँवरले बताइन्। उनका अनुसार यो अभ्यासलाई तीन तरिकाले गर्न सकिन्छ ।

आरामले बसेर लामो श्वास तान्दै फाल्नुपर्छ । त्यसपछि श्वास तान्दा हात माथि लैजाने र फाल्दा तल झार्नुपर्छ । मुख र घाँटी खुला राखेर दुईपटक श्वास फाल्नुपर्छ । यस्तै टाउकोमा हात राखेर पुतलीले जस्तो बन्द र खोल्ने गर्नुपर्छ ।

कार्डियो रेस्पिरेटोरी फिजियोथेरापिस्ट मनमोहन कार्डियोगोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फिजियोथेरापिस्ट डा. ऋचा वज्राचार्यले पनि कोरोना सङ्क्रमितलाई विभिन्न कसरत गराउने गरेको जानकारी दिइन् । यो सबै वैज्ञानिक रूपमा मान्यता पाएको र यसले श्वासप्रश्वास प्रणालीको क्षमता बढाउन मद्दत गर्ने उनले बताइन् ।

इन्सेन्टिभ स्पाइरोमिटर प्रयोग गर्न पनि सकिने उनको भनाइ छ । घोप्टो परेर सुत्नु (प्रोनिङ) गर्दा श्वास फेर्न सजिलो हुने र श्वासप्रश्वास प्रणालीको बोझ कम गर्ने विधि पनि अपनाउनुपर्ने उनको सुझाव छ ।

“सजिलो कुर्सीमा बस्ने र आफ्नो अगाडि एउटा टेबुलमाथि सिरानी राखेर त्यसमा अडेस लिने । घाँटी एकापट्टि फर्काएर टाउको बिसाउने । आफूलाई सहज भएसम्म यो अवस्थामा बस्ने र श्वास भित्र–बाहिर गरिराख्ने । यसले श्वासप्रश्वासको कार्यबोझलाई घटाउँछ,” उनले स्पष्ट पारिन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.