शान्त र सुन्दर मैत्री सेवाश्रम

| 2023 Jan 27 | 03:31 pm 3009

  • भरत कोइराला

राजनीतिकर्मी तथा समाजसेवी मित्रसेन दाहालले शान्त र सुन्दर जीवनका लागि २०५१ सालमा स्थापित मैत्रीसेवाश्रम राजधानीको वरिपरि बस्ने जेष्ठ नागरिक तथा पर्यटकहरुका लागि आकर्षणको एउटा केन्द्र बनेको छ । दाहालले आफ्ना पिता जयप्रसाद (जे.पी)का नाममा  स्थापना गरेको प्रतिष्ठान अन्तर्गतको यो बिशुद्ध गैर राजनैतिक मुनाफारहित एवं जनहितकारी, परोपकारी, सामाजिक सस्थाको रूपमा काठमाडौंको शंकरापुर नगरपालिका (लप्सीफेदी) मा संचालित भएको छ । यो एउटा बृद्धाश्रम मात्र नभएर जीवन र जगतलाई बुझ्ने, योग र साधना गर्ने तथा शान्त र सहज जीवन व्यतित गर्ने केन्द्र बनेको छ ।

No description available.

राजधानीबाट धेरै टाढा नभएकोले बिदा तथा चाडबाडको बेला घुमफिर गर्नका लागि एउटा उपयुक्त पर्यटकीय स्थल बनेको छ । यो काठमाडौं जिल्लाको उत्तर पूर्व एक हजार आठ सय मिटरको उचाईमा अवस्थित छ । बहुचर्चित शाली नदीको उद्गम स्थल नजिकै रहेकाले धार्मिक दृष्टिले यो स्थान महत्त्वपूर्ण मानिन्छ । स्थायी रुपमा बसोबास गर्ने जेष्ठ नागरिकका अतिरिक्त पर्यटकहरुलाई पनि आवास र भोजनको राम्रो सुविधा यहाँ उपलब्ध छ। कतिपय संघ संस्थाहरुले यहाँ विभिन्न प्रकारका कार्यक्रम बैठक र गोष्ठीहरु पनि संचालन गर्दै आएका छन् । उक्त प्रयोजनका लागि यहाँ विभिन्न सुविधाहरू उपलब्ध गराइन्छ ।

यो संस्था कुनै शोध अनुसन्धान, अध्ययन र लेखनका लागि पनि उपयुक्त देखिन्छ । उक्त सेवाश्रम स्व. मित्रसेन दाहालको धर्मपत्नी शकुन्तला दाहालको अध्यक्षतामा रहेको संचालक समिति तथा विभिन्न समिति र परामर्शदाताको अगुवाइमा चलिरहेको छ भने व्यवस्थापन को जिम्मेवारी महामण्डलेश्वर गिरीले सम्हालेका छन् । अष्ट्रेलिया र अमेरिकामा उच्च अध्ययन गरेका गिरीले आफ्नो जीवन सम्पूर्ण रुपमा यही आश्रमको सेवामा अर्पित गरेका छन् । त्यहाँ उनको काम र सकृयता देख्ने जो सुकै पनि अन्तरहृदयदेखि उनको प्रशंसा गर्न चुक्दैनन् । स्थायी रुपमा बस्ने जेष्ठ नागरिक (महिला तथा पुरुष) को रेखदेख, उपचार, सुविधा–असुविधाको हेर विचार देखि भोजनालयको व्यवस्थापन, गाई गोठ र तरकारी खेतीको रेखदेख सबै काममा उनी विद्युतीय गतिमा संलग्न रहेको देखिन्छ । अत्यन्त सकारात्मक सोच भएका उनीमा व्यवस्थापकीय कौशल तथा सेवा भावको महत्व प्रस्तुत गर्ने कला प्रशंसनीय देखिन्छ ।

No description available.

यस सेवाश्रमले जेष्ठ नागरिकको स्वतन्त्र, सुखमय तथा शान्तिपूर्ण जीवन यापनका लागि अनुकुल र सुविधापूर्ण वातावरण सृजना गर्दै प्रदूषणमुक्त प्रकृति मैत्री आवास एवं प्राकृतिक आहार–विहार र बुढ्यौली चिकित्सा उपचारको ब्यवस्था गरेको पाइन्छ । यहाँ स्थायी रुपमा बस्न चाहनेहरुका लागि आवास र सुबिधा अनुरुप शुल्क निर्धारण गरिएको छ । व्यवस्थापक गिरीले बताए अनुसार शुल्क तिर्न नसक्नेहरुका लागि निःशुल्क आवास, भोजन लगायत सबै प्राथमिक सुबिधा उपलब्ध गराइन्छ भने बढी शुल्क तिरेमा थप सुबिधाहरु पनि उपलब्ध हुन सक्छन् । सबैले सामुहिक रुपमा बस्नु पर्ने बाध्यता छैन । श्रीमान श्रीमती वा एकल ब्यक्ति छुट्टै कोठामा वा कटेजमा बस्न पाउने सुबिधा छ । सामान्य रुपमा बस्न आउने आगन्तुकहरुले इच्छा अनुसार सहयोग गरे हुन्छ । बाध्यता छैन ।

No description available.

झण्डै असी रोपनी जग्गामा फैलिएको यस सेवाश्रम दाताहरुकै सहयोगले गर्दा झण्डै–झण्डै आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । आश्रमको आवश्यकता पूरा गर्नका निमित्त त्यहाँ उत्पादित कतिपय सामानहरु बिक्रि गरिन्छ भने खाद्यान्न विभिन्न समाजसेवी एवं दाताहरुले आपूर्ति गरिदिने गरेका छन् । त्यहाँको भोजनालयमा अर्ग्यानिक तरकारीहरु मात्र प्रयोग गरिन्छ भने दूध, दही र घ्यू पनि त्यही उत्पादन गरिन्छ । यसको लागि त्यहीँ गाई पालन गरिएको छ । आश्रमको निर्माणमा नेपाल सरकारले महत्वपूर्ण योगदान पुर्याई आएको छ । ठूला–ठूला भवन र आकर्षक कटेजहरुको निर्माण नेपाल सरकारकै सहयोगमा भएको हो ।

No description available.

लोकतन्त्र स्थापना पछिका जुनसुकै सरकारले पनि प्रतिष्ठानद्वारा प्रस्तुत परियोजनालाई स्वीकार गरेर उदारतापूर्वक सहयोग गरेको प्रमाण पाइन्छ । प्रतिष्ठानले सहयोगकर्ता, सरकार र ब्यक्तिको योगदानको उच्च सम्मान गर्दै सबैले देख्ने गरी अभिलेख र शीलालेख राख्ने गरेको छ । कसै प्रति पूर्वाग्रह नराख्ने, पारदर्शी बन्ने र सहयोगको बदला कृतज्ञता प्रकट गर्न कन्जुसी नगर्ने यसका संचालकहरुको विशेषता रहेको पाइन्छ । हालसालै नेपाली सेनाले समेत आफ्नो सिफारिसमा आएका सेनाका परिवारलाई बस्न दिने गरी केही कटेजहरुको निर्माण गरी सेवाश्रमलाई सुम्पेको छ ।

उक्त आश्रममा पुगेर फर्किएका बरिष्ठ पत्रकार हरिहर बिरहीले आफ्नो अनुभव सुनाउँदै भने –सच्चा मनले सामाजिक काममा अग्रसर हुने हो भने सहयोगी हातहरुको कमी हुने रहेनछ भन्ने एउटा नमुना हो त्यो आश्रम । देशमा यस्ता धेरै आश्रमहरुको खाँचो छ । त्यो आश्रम बृद्धाश्रम मात्रै होइन रहेछ । हरेक प्रकारका व्यक्तिहरुका लागि त्यो उपयोगी छ । त्यसको परिकल्पना निर्माण र संचालन स्वयंममा प्रेरणादायी सन्देश बनेको छ । मित्र मित्रसेनजीले भित्र भित्रै ठूलो सत्कर्म गर्नुभएको रहेछ । उहाँको यो आश्रमलाई दोस्रो चरणमा अझ विस्तृत र सक्षम बनाउने परिकल्पना पनि पूरा भएमा राष्ट्रकै लागि गौरबपूर्ण स्थल बन्न सक्छ ।

No description available.

उक्त आश्रममा प्रथम राष्ट्रपति डा. रामबरण यादव वर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव कुमार नेपाल, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व सभामुखहरु, पूर्व प्रधान न्यायाधिशहरु, मन्त्रीहरु लगायत पुगिसकेका छन् भने प्रत्येक दिन कोही न कोही सम्मानित व्यक्ति र सर्वसाधारण नागरिकहरु पनि जाने गरेको देखिन्छ ।

No description available.

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.