देशमा शान्ति र स्थायित्वका कायम गर्न समुदायको सहयोग अपरिहार्यः गृहमन्त्री (बादल)

| 2018 Oct 14 | 04:12 pm 1766

काठमाडौँ, असोज २८ : गृहमन्त्री रामबहादुर थापा (बादल) ले देशमा सुख, शान्ति र स्थायित्वका लागि स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आइतबार आयोजित एक अन्तरक्रियामा गृहमन्त्री बादलले तीनै तहको समन्वय र समुदायसँगको सहकार्य भएमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे ।

देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने हो । अपराधलाई निस्तेज पार्न समन्वय जरुरी भएकोले प्रहरीले प्रस्तुत गरेको (समुदाय–प्रहरी साझेदार) कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने गृहमन्त्री थापाले बताए ।

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा उनको गरेका छन् । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीले राखे। उनले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

त्यस्तै गृहसचिव प्रेमकुमार राईले पनि प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए । यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिए । अर्का सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रुपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रका रुपमा (समुदाय–प्रहरी साझेदारी) अवधारणा आएको छ भन्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए । उनीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.