‘शहीदलाई राज्यले सम्मान गर्न सकेन’

| 2019 Jan 30 | 07:09 am 1767

काठमाडौं, माघ १६ : राष्ट्र र समाजको विकासका लागि ज्यानको बाजी थापेका शहीदहरु राज्यले सम्मान गर्न नसकेको बताएका छन् । शहीद स्मृति प्रतिष्ठानले शहीद दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘शहीदको योगदान र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उक्त कुरा बताइएको हो ।

कार्यक्रममा शहीद स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले शहीदको योगदानबाट आज जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बने पनि शहीदको योगदानलाई सरकारले बिर्सेको बताए। “शहीदको योगदानबाट राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिले शहीद परिवारलाई उपेक्षा गर्‍यो,” उनले भने।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शहीदको सपना पूरा गर्नका लागि राजनीतिक एकता र विकास आवश्यक रहेको बताए। “राणा शासन, पञ्चायती शासन र बहुदल प्राप्तिका लागि गरेका शहीदको तथ्याङ्क राख्नुपर्छ,” उनले भने।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले शहीदको सम्मानका लागि विभिन्न सङ्घसंस्थाको नाम शहीदको नाममा राख्नुपर्ने बताए। पूर्वराजदूत विजयकान्त कर्णले शहीदको योगदानका कारण हामी स्वतन्त्र रुपमा हिँड्न र बोल्न पाएको भन्दै सरकारले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताए।

विसं २०५३ मा स्थापना भएको प्रतिष्ठानले शहीदको सम्मान र आश्रित परिवारको सहयोगका लागि विभिन्न काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.