शर्त छोडेर वार्तामा आउन केसी पक्षलार्इ सरकारको आव्हान

रिपोर्ट नेपाल | 2018 Jul 21 | 06:54 pm 3186

काठमाडौं, साउन ५: चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसी पक्षको वार्ता टोलीलार्इ सरकारले शर्त छोडर वार्तामा आउन आग्रह गरेको छ।

शनिबार वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ती प्रकाशित गरी विना शर्त वार्तामा आउन आग्रह गरेका हुन्। विज्ञप्तीमा भनिएको छ, ‘सरकारी वार्ता टोली डा. केसीको माग वार्ताबाटै सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छ। ससर्त वार्ता हुँदैन, निर्सत जुन कुनै बेला वार्ता गर्न तयार छौं ।’

सरकारी टोलीले डा. केसी पक्षको वार्ता टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्तामा नबस्ने भनाइका कारण वार्ताले गति लिन नसकेको हो ’

केसी पक्षको वार्ता टोलीको सोही अडानका कारण जीवनरक्षाका लागि उनलाई सरकारले जुम्लाबाट काठमाडौं ल्याएको सरकारी वार्ता टोलीको दाबी छ। सरकारले असार ३२ गते बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता कमिटि गठन गरेको थियो। ३ पटक वार्ता भएपनि सकारात्मक हुन नसकेको संयोजक बरालले बताए ।

वार्ता टोलीको उपस्थितिमा सरकारले केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखेको छ। केसीको स्वास्थ्य अवस्था भने झनझनै बिग्रिदै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.