काठमाडौं, कार्तिक १२ : महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पक्राउ गरेको थियाे ।
गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजी पक्राउ परेका थिए । उनीहरुलार्इ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले २०७४ माघमा थुनछेक बहसपछि नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको थियो ।
गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।