शनिबार नेकपाले चियापान गर्ने

| 2018 Oct 24 | 02:50 pm 2012

काठमाडौं, कात्तिक ७  : नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरण भएपछि पहिलो पटक आगामी शनिबार चियापन कार्यक्रम हुनेभएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित बगैँचामा हुने चियापानका लागि विभिन्न पार्टीका नेता कार्यकर्ता, संवैधानीक निकायका पदाधिकारीहरु, विभिन्न कुटनीतिक निकायका प्रतिनीधिहरु, जंगी तथा निजामतिका उच्च तह र विभिन्न तहका कर्मचारी, उद्योगी व्यवसायी, मानवअधिकारकर्मी, पत्रकार लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनीधिहरुलाई आमन्त्रण गरिएको छ ।

विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रममा झण्डै ५० हजारको सहभागिता रहने नेकपाका नेता योगेश भट्टराईले बताए ।

गत वर्ष निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे आज बुधबार दिउँसो नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल र स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरेका थिए । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुने भट्टराईले बताए ।

नेता भट्टराईका अनुसार दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ ।

दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.