शंकास्पद अवस्थामा भेटिए एक मृत चितुवा

रिपोर्ट नेपाल | 2019 Feb 02 | 03:45 pm 2356

डोटी, माघ १९ :  जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ स्थित लडागडाको टिमुरदह गाउँनजिकै सामुदायिक वनमा मरेको अवस्थामा एक चितुवा फेला परेको छ ।

मृत चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली सो ठाउँमा पुगेका छन् ।

चितुवाको शरीरमा घाउ चोट देखिएकाले गोली लागेर मरेको वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने उक्त टोलीले अनुमान गरेका छन् । चितुवा अन्दाजी तीन वर्षको रहेको छ ।

चितुवालाई सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए ।

सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सामुदायिक वनका अध्यक्ष झङ्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव–डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । उक्त चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.