व्यवसायिक सङ्घर्ष र सफलताको एउटा नाम : दीपक

| 2018 Jul 05 | 07:30 am 4760

एक सफल व्यवसायीको नाम हो दीपक श्रेष्ठ, जो १३ वर्षकै उमेरमा दोलखाबाट खालीखुट्टा काठमाडौं आएर एक सफल व्यावसायीको पहिचान स्थापित गरेका छन् । सानै उमेरदेखि जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएर अघि बढेका श्रेष्ठ अहिले सफल ट्रेकिङ व्यवसायीको पङ्क्तिमा उभिएका छन् । ट्रेकिङ व्यावसायी मात्रै नभई उनी एक सफल होटेल व्यावसायीका रूपमा समेत चिनिन्छन् ।

चार वर्षको उमेरमै आफ्नो पिता गुमाएका थिए दीपकले । बुबाको मृत्युपछि धेरै समस्या भोगेका उनमा केही गर्नुपर्छ भन्ने सोच ९-१० उमेरको त्यो समयदेखि नै आएको बताउँछन् ।

दोलखाको सुरी गाविसमा जन्मेका श्रेष्ठ विगत १४ वर्षदेखि सिंगापुर बस्दै आएका छन् । उनले सिंगापुर र नेपाल दुवै ठाउँमा व्यवसाय गर्दै आएका छन् । उनले काडमाडौं र सिंगारपुरमा ट्राभल अफिस र होटेल खोलेका छन् । डिभाइन इन्टरनेशनल ट्राभल, ग्लोबल ट्रेकिङ, मिल्क एण्ड हनी डेजर्टबार, भोजघर जस्ता धेरै होटेल व्यावसाय चलाउँदै आएका छन् ।

काठमाडौं छिर्दा एउटा गाउँले दाइको सहयोगमा आएका श्रेष्ठले एउटा प्लास्टिक कम्पनीका काम गरेका थिए । त्यतिबेला उनको कमाई मासिक २५० रुपैयाँ हुन्थ्यो । त्यो जमानामा २५० कमाउनु पनि ठुलो कमाई भएको श्रेष्ठ बताउँछन् । उनले कमाईलाई कहिल्यै पनि सानो–ठूलो भनेनन् र आफ्नो कामलाई निरन्तरता दिइरहे । उनले एकै ठाउँमा लामो समय काम पनि गरेनन् । किनकि एउटै ठाउँमा लामो समय काम गर्दा सीमित कामको मात्रै अनुभव या ज्ञान हुने उनको धारणा रहेछ । उनले विभिन्न ठाँउमा काम गर्दै गए र आफ्नो ज्ञान बढाउनुका साथै अनुभव पनि बटुल्दै गए ।

यसरी काम गर्दै जाने क्रममा एउटा ट्रेकिङ कम्पनीमा काम गर्न पुगे उनी । उनले त्यहाँचाहिँ १२ वर्षसम्म काम गरे र त्यहीँबाट एउटा सफल व्यावसायी बन्ने उनको यात्रा सुरु भयो ।

०४४ सालमा ट्रेकिङ कम्पनीमा जागिर गर्न थालेका थिए दीपकले । एउटा गाउँले दाइको सहयोगमा त्यहाँ काम गरेका थिए । जब त्यो ट्रेकिङ कम्पनीमा काम थाले, उनको टर्निङ पोइन्ट त्यहीँबाट सुरु भयो । त्यतिबेला उनी १५ वर्षका थिए ।

यसरी उनले बाबिन ट्रेक भन्ने कम्पनीमा १२ वर्षसम्म काम गरे । धेरै कम्पनीमा काम गरे पनि सबैभन्दा धेरै बाबिन कम्पनीमै काम गरेको उनी बताउँछन् । उनलाई आफैले केही गर्नुपर्छ भन्ने पनि त्यही कम्पनीबाट प्रेरणा मिल्यो । पहिलो सिंगापुरको यात्रा भनेको सन् १९९४ मा गएका थिए त्यहाँबाट सन् २००० सम्ममा लगातार सिंगारपुरको यात्रा गर्ने मैका मिल्यो । उनी सिंगापुर आउँदै–जाँदै गर्न थाले ।

सन् २००० मा आफ्नै केही गर्ने उद्देश्यले उनले काम छाडे । काम छाड्ने बेलामा कम्पनीमा साहुहरूसँग सल्लाह गरेरै छाडेको उनी बताउँछन् । कम्पनीबाट बाहिरिएपछि उनले आफ्नै कम्पनी सुरु गरे । धेरै कम्पनीमा काम गरिसकेको र देश–विदेश पनि धेरै आउजाउ गरेको हुनाले उनलाई कम्पनी चलाउन गाह्रो थिएन । तर जुनबेला उनले नेपालमा कम्पनी सुरु गरेका थिए, त्यो अत्यन्त प्रतिकुल समय थियो । किनकि नेपालमा माओवादीको द्वन्द्व, दरबार हत्याकाण्ड, अमेरिकामा ट्वीन टावरमा त्यतिबेलै आक्रमण भएको अवस्थाका कारण त्यतिबेला नयाँ खोलेको कम्पनी जोगाउन गाह्रो भयो । उनले भने, ‘नयाँ कम्पनी जोगाउन असाध्यै गाह्रो भयो, तर मैले धैर्यतासाथ साथ काम गरेँ । आफैँले ट्रेड लिड गरेँ, त्यसले पछि मलाई फाइदा पनि गर्यो ।’

हामी नेपालीको बानी के छ भने स्वदेशमा जस्तो पायो त्यस्तो काम नगर्ने अनि विदेशमा चाहिँ जे आइपरे पनि गर्ने ! यो राम्रो होइन, यस्तो सोच निकालेर फालिदिनु पर्छ । यतिबेला नेपालमा राम्रो तलब दिन्छु भनेर मान्छे बोलाउँदा कोही पाइँदैन । काम गर्ने मान्छे नै छैन । युवाहरूको विदेशमोहले गर्दा यस्तो भएको हो । तर, जब विदेशिनुहुन्छ अनि थाहा पाउनुहुन्छ त्यहाँ कस्तो काम गर्नुपर्छ भनेर । विदेशमा के–के नै हुन्छ भनेर जान्छन् अनि दुःख धेरै पाउँछन् । त्यहाँ गर्ने जति दुःख यहाँ गर्ने हो भने त निकै प्रगति हुन्छ ।

सन् २००४ देखि सिंगापुरमै सेटल भएर बसेका उनले त्यहीँ एउटा कम्पनी दर्ता गरेर चलाउन थाले । अहिले सिंगापुर र नेपाल दुवैतिर व्यवसाय राम्रो चलेको र नेपाल आउने–जाने भइरहेको बताउँछन् उनी ।

‘यहाँसम्म पुगिसक्नु भएको छ, अब यो भन्दा अगाडिका योजना के छन् नि ?’ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्– ‘मेरा एकजना आत्मीय साथी हुनुहुन्छ । उहाँ सँगसँगै करिव तीन दशक काम गरियो र अब दुईवटा प्रोजेक्टमा पनि सँगै काम गर्दैछौँ । होटेल लाइनमा उहाँ धेरै दक्ष हुनुहुन्छ । हामीले नेपाल र सिंगारपुर दुवै ठाउँमा व्यवसाय गर्दैछौँ । सिंगापुरमा त अहिले दुई–तीनवटा ओपनिङ गर्न लागिरहेका छौँ । त्यसमाचाहिँ हामी दुई मात्रै नभई अरू पनि हुनुहुन्छ, संयुक्त रूपमा गर्न लागेका हौँ ।’

० अहिले नेपालमा रोजगारीको राम्रो सुविधा छैन, सरकारले दिन पनि सकेको छैन । युवाहरू कता जाउँ के गरौँ भइरहेका छन्, यस्ता युवालाई के सुझाव दिन चाहनुहुन्छ ?

– भन्न त मान्छेहरू आफूचाहिँ विदेश गयो हामीलाई चाहिँ जान नदिन खोज्छ भन्न पनि सक्छन् । मैले देखेको अब देशमा राजनीतिक स्थिरता आएको छ । त्यसैले नेपालमा अब तीव्र विकास शुरु हुन सक्छ । विदेश जाने युवाहरू पनि धेरै देखेँ । खाडी मुलुक जानेहरू धेरै देखेँ । उनीहरूलाई बिचरा बाँच्नै गाह्रो छ, कमाउन त कुरै छाड्निुहोस् । विदेशमा संघर्ष धेरै गर्नुपर्छ । फेरि हामी नेपालीको बानी के छ भने स्वदेशमा जस्तो पायो त्यस्तो काम नगर्ने अनि विदेशमा चाहिँ जे आइपरे पनि गर्ने ! यो राम्रो होइन, यस्तो सोच निकालेर फालिदिनु पर्छ । यतिबेला नेपालमा राम्रो तलब दिन्छु भनेर मान्छे बोलाउँदा कोही पाइँदैन । काम गर्ने मान्छे नै छैन । युवाहरूको विदेशमोहले गर्दा यस्तो भएको हो । तर, जब विदेशिनुहुन्छ अनि थाहा पाउनुहुन्छ त्यहाँ कस्तो काम गर्नुपर्छ भनेर । विदेशमा के–के नै हुन्छ भनेर जान्छन् अनि दुःख धेरै पाउँछन् । त्यहाँ गर्ने जति दुःख यहाँ गर्ने हो भने त निकै प्रगति हुन्छ ।

जसले प्लस टु राम्ररी पास गर्छन् अनि घरमा बहस हुन थाल्छ– पढ्न अष्ट्रेलिया जाने कि अमेरिका जाने ? पढ्न जानु त राम्रो हो तर गएपछि के गर्ने भन्दा त्यहीँ काम गर्ने, पढ्ने अनि उतै सेटल हुने । त्यो भएपछि त सकियो नि, देशले के पायो त ? हामीजस्ता बाहिर सेटल भएर बसेकाले त नेपाल आएर यहाँ केही गर्दैछौँ भने युवाहरूको लागि त यहाँ प्रशस्तै ठाउँ छ नि । उनीहरूले गर्न सक्ने प्रशस्तै छ । त्यसैले युवााहरूले यहीँ केही गर्नुपर्छ, विदेशिने सोच बनाउनु हुँदैन भन्ने मेरो धारणा र सुझाव पनि यही नै छ । नेपाली युवाहरूले नेपाली भूमिमा नै पसिना बगाउनु पर्छ, अवसर यहीँ नै छ ।

दीपकले एउटा पुस्तक पनि लेखेका छन् – ‘द पावर टू विकम (हाउ आई चेन्ज्ड माई वोन डेस्टिनी)’। लेख्छु नै भनेर लेखेकाचाहिँ होइनन् । ‘धेरै स्ट्रगल गरेर यो ठाउँमा पुगेँ, अनि सोचेँ कि पुस्तक लेखिनँ भने त कसैले थाहै पाउन्नन् मैले यति धेरै सङ्घर्ष गरेको छु भनेर । म कुन पृष्ठभूमिबाट आएको हुँ र के–कति दुःख गरेँ अनि सफलता पाएँ भन्ने बुझाएर युवाहरूलाई कर्मप्रति उत्प्रेरित गर्न मैले आफ्नै सङ्घर्षको कथालाई पुस्तकको रूप दिएको हुँ ।’ आफ्नो पुस्तक पढेर युवाहरूले प्रेरणा हासिल गरुन्, आफूलाई बदलुन् भन्ने उनको चाहना छ ।

झन्डै दुई वर्ष लगाएर पूरा गरेका रहेछन् उनले यो पुस्तक । लगभग महिना–डेढ महिना मात्रै भयो उनको पुस्तक आएको । अङ्ग्रेजीमा लेखिएको पुस्तकमा सङ्घर्षको कुरा धेरै भए पनि व्यापारको सन्दर्भ पनि उल्लेख गरिएको उनी प्रष्ट्याउँछन् । पुस्तक नेपाली संस्करणमा पनि छिट्टै आउने जानकारी उनले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.