वीरगञ्ज, पुस ३० : दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।
सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किमी छ ।
परियोजनाअन्तर्गत पाइपबिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताए ।
भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करीब चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ ।
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आइओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।
परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ ।
जितपुर तथा परवानीपुरको केही भू–भागमा जमीनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको पैदलमार्ग (फुटपाथ) को ठीक तल जमीनमुनि आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ । पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका करीब छ हजार ५०० ठूला तथा चार हजार जति साना रुख काट्नुपर्ने देखिन्छ ।
परियोजनाले शुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भनिए पनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो । भारतीय आयल कर्पोरेशनले मोतिहारी डिपोलाई पूर्णरुपले बनाई नसकिएकाले केहि ढिलो भएको प्राविधिकको भनाइ छ ।
पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघण्टाका दरले विहारको राजधानी पटनाबाट डिजल आउने छन् । तर मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघण्टा २०० किलोलिटर डिजल अमलेखगञ्ज डिपोमा भण्डारण हुनेछन् । भारतीय पक्षले सन २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ ।
मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेल समेत आयात हुनेछन् । परियोजना सञ्चालनमा आएपछि शुरुमा डिजेलमात्र आयात गरिने छन् । मागको करीब ६० प्रतिशत डिजल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ ।