‘वैदेशिक रोजगारीमा सेटिङका दिन सकिए’ : प्रहरी महानिरीक्षक खनाल

| 2018 Nov 24 | 07:18 am 1821

काठमाडाैं, मङ्सिर ८ : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् ।

गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि गरे । एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएकोे र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणासमेत व्यक्त गरे ।

इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ । देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ ।’ कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डिआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, एसपी देउती गुरुङको पनि सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.