वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

रिपोर्ट नेपाल | 2026 Apr 11 | 02:00 pm 549

चैत २८ काठमाडौँ / अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ ।

वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल÷रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि जारी सूचनामा भनिएको छ ।

विभागले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिने गरी सेवा प्रवाह गर्न र अतिरिक्त कागजात माग्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

‘भिजिट भिसा’मा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.