काठमाडौं, साउन २६ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङ थाक्रे गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।
उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाइदिने भनी २ लाख ५६ हजार रूपैयाँ ठगी गरेका थिए, चौधरीले १ जनालाई फ्रान्स पठाइदिने भनी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाइदिने भनी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं नयाँ बसपार्कबाट, चौधरीलाई काठमाडौं नयाँ बानेश्वरबाट तथा अर्याललाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।