काठमाडाैं, असार २३ः वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुर, त्रियुगा न.पा. वडा नं. १३, चुहाडे घर भई हाल काठमाडौं, टोखा नं.पा. वडा नं. १०, सामखुसी बस्ने ६० बर्षीय केदार गिरी रहेका छन् ।
गिरीले मिति २०७६/०७/१५ गते प्रभु वैंक लिमिटेडमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा मिति २०७७/१०/०६ मा फैसला गर्दै प्रतिवादी केदार गिरीलालई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ७ दिन कैद र रु.२० लाख रुपैंया जरिवाना हुने ठहर गरेको थियाे ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिवादीलाई मिति २०७९/०३/२३ गते सानेपा, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महताेले जानकारी दिए ।