काठमाडौँ, वैशाख २७ः वीर अस्पतालको नवनिर्मित भवनमा कोरोना सङ्क्रमितको उपचार हुने भएको छ । सुरुमा सय शैय्याबाट सञ्चालन हुने उक्त भवनमा पाँच सय शैय्यासम्म विस्तार गरिने छ ।
वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले उक्त भवनमा अहिले अक्सिजन व्यवस्थापन कार्य भइरहेको बताइन् । “अहिले अक्सिजनको प्रणाली मिलाउने काम गरिरहेका छौँ, भोलि या पर्सिदेखि नै सय शैय्यामा सङ्क्रमितको उपचार हुनेछ”, आवश्यक परे पाँच सय शैय्या नै सञ्चालन गर्न सकिने जानकारी दिँदै डा. सापकोटाले भनिन् । सो अस्पतालमा अक्सिजन चाहिने सङ्क्रमितको मात्र उपचार हुनेछ ।
सो भवनमा पाँच सय शैय्या सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको जानकारी दिँदै डा. सापकोटाले थपिन्, “यो अस्पताल सञ्चालनका लागि नर्सिङ जनशक्ति सय जना मागिएको छ, अरू नर्सिङ जनशक्ति पनि थप गर्ने छौँ ।” नर्सबाहेक सरसफाइलगायतका जनशक्ति पनि आवश्यक रहेको उनले स्पष्ट पारिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा आइतबारदेखि कोरोना सङ्क्रमितको उपचार गर्न सुरु गरिएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सेन्टरमा भएका अन्य बिरामीलाई वीर अस्पतालमा स्थानान्तरण गरेर कोरोनाका बिरामीको मात्र उपचार गर्न थालिएको जानकारी दिए ।
निर्देशक पौडेलले यसअघि भर्ना भएका ट्रमा सेन्टरका सबै बिरामीलाई सार्नुपर्ने भएकाले पूरा क्षमतामा सङ्क्रमित भर्ना लिन केही दिन लाग्ने जानकारी दिँदै उहाँले सेन्टरमा दुई सय शैय्याको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको बताए । गाेरखापत्र दैनिकबाट