काठमाडौँ ८ असोज । वीरगन्ज महानगरपालिकाको आयोजनामा सोमबार वीरगन्जमा धार्मिक सहिष्णुताका लागि बृहत् सद्भाव र्याली निकालिएको छ । आदर्शनगरस्थित स्विमिङ पुलबाट सुरु भएको र्याली बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट र्याली आयोजना गर्ने सम्बन्धमा निर्णय गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघीय सांसद प्रदीप यादवले सामाजिक सद्भावलाई कायम राख्नु पर्नेमा जोड दिएका थिए । उनले धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाड्ने काम कसैले गर्न नहुने बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेसँग वीरगन्जबासी सावधान छन् भन्ने सन्देश प्रवाहगर्न र्याली निकालिएको बताए ।
नेकपा एमाले पर्साका संयोजक विश्वम्भर शर्माले समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेलाई कानुनको दायराभित्र ल्याई कारबाही गरिनु पर्ने बताएका छन् ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारबाही गर्नुपर्ने बताए ।
र्यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशी कपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।