वीरगञ्जमा तीन जना भारतीय नागरकिमा कोरोना संक्रमण भएको पुष्टि

| 2020 Apr 12 | 01:23 pm 2083

पर्सा, चैत ३०ः वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा वीरगन्जबाट ल्याइएका तीन बिरामीको स्वाब परीक्षण गर्दा ‘पोजेटिभ’ पाइएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वाब हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रस्थित प्रयोगशालामा जाँच गर्दा पोजिटिभ देखिएपछि थप पुष्टिको लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो । टेकुमा पनि उनीहरूमा कोरोना पोजेटिभ नै देखाएको स्रोतले जानकारी दिएको छ ।

नेपालभित्र लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको बताइएको छ । उनीहरूको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

योसँगै नेपालभित्र कोरोना संक्रमित हुनेको संख्या १२ पुगेको छ । यसअघि सुदुरपश्चिम प्रदेशमा पनि एकैदिन तीन जनामा कोरोना भएको पुष्टि भएको थियो । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गिरएको थियो । सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार अहिलेसम्म ४ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ । ८२ जना आइसोलेसनमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.