पर्सा, माघ २२: बुधबार बिहान वीरगञ्जको औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ। उद्योगमा लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको थियो।
उक्त आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको तीन, कलैया उपमहानगरपालिकाको एक, जितपुरसिमरा उपमहानगरपालिकाको एक र पोखरिया नगरपालिकाको एक गरी ६ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिएको वीरगञ्ज महानगरपालिका वारुणयन्त्र शाखाका नेहाल अहमदले बताए।
आगलागीमा उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनकारी दिए।
आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ। क्षतिको पूर्णविवरण यकिन हुन बाँकी छ। उद्योग सञ्चालक वीरगञ्ज–१६ का राजेश दास तत्वाले भने ७० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।