वीपी उद्यान निर्माण गर्ने विगतको योजना बदर नगर्न काँग्रेसको चेतावनी

रिपोर्ट नेपाल | 2019 Feb 10 | 06:51 pm 2003

काठमाडौं, माघ २७ : बीरगञ्जमा वीपी कोइरालाको नाममा वीपी उद्यान निर्माण गर्ने विगतको योजना र निर्माण बदर गर्न खोजिएको भन्दै नेपाली काँग्रेसले आक्रोश व्यक्त गरेको छ ।

आज काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको दुई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको निर्णय असफल पारेको चर्चा गर्दै वीपी उद्यान निर्माण गर्ने पूर्ववर्ती निर्णय बदर गर्ने प्रयास नगर्न चेतावनी दिए ।

प्रवक्ता शर्माले यही वेला त्यही प्रवृत्ति वीरगंजमा देखिएको जिकिर गर्दै नेपाली माटोमा लोकतान्त्रिक विचार र संस्कारलाई प्रविष्ट गराउने वीपी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्यलाई नजरअन्दाज गरिनु दुर्भाग्यपूर्ण भएको बताए । प्रवक्ता शर्माले प्रदेश २ का मुख्यमन्त्रीले अर्कैको नाममा पार्क निर्माण गर्न गत माघ १६ मा शिलान्यास गर्नु दुःखद भएको र यो घोर आपत्तिजनक पनि भएको स्पष्ट पारे ।

गत माघ २४ गते बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठकले वीपी कोइरालाका नाममा वीरगंजमा निर्माण गर्ने निश्चित भएको वीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो ।

वैठकले पूर्व निर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशीघ्र वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन समेत माग गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.