कञ्चनपुर, फागुन ९ : सहोदर हजुबुबा र हजुरआमाले आफ्नै नातिनीलाई विष खुवाएर मृत्युको मुखमा पुर्याउलान भनेर कसैले पत्याउन सक्दैन । तर घटना भने पत्याउन बाध्य हुनेगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा उनका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।
गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई पक्राउ गरिएको हो ।
बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन् ।
तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । प्रहरीले उनको घरबाट विषादीको बट्टासमेत बरामद गरेको छ ।
दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।