विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

रिपोर्ट नेपाल | 2019 Jan 11 | 09:14 am 2441

गलेश्वर, पुस २७ : म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।

चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएको थियो।

केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस खाएर बाख्रा मरेका जनाएको छ । बाख्रा मरेपछि करीब रु तीन लाखको क्षति भएको कृषक शाहीले बताए।

केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारीअनुसार चरन क्षेत्रमा पाइने विशाक्त घाँसकै कारण बाख्रा मरेका हुन् । “अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे”, रेग्मीले भने।

रेग्मीका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । १२ बाख्रा मरेका र पाँचको उपचार भइरहेको रेग्मीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.