विषादी प्रयोगशालाका लागि डेढ करोड

रिपोर्ट नेपाल | 2018 Sep 28 | 08:05 am 3876

वीरेन्द्रनगर, असोज १२: कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ।

कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए।

बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारीलगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र प्राङ्गारिक कृषि विस्तार र रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो ।

‘‘हाम्रो पहिलो लक्ष्य विषादी प्रयोग भएका वस्तु कर्णाली प्रदेशमा भित्रिन नदिने हो, यसका लागि दुई वटा मुख्य नाकामा प्रयोगशाला स्थापना गछौं’’ कृषि मन्त्री केसीले भने, ‘‘यसका लागि प्रदेशलाई प्राङ्गारिक बनाउनका लागि अन्य कार्यक्रम पनि ल्याएका छौं ।’’उक्त कार्यका लागि मन्त्रालयले कर्णाली प्रदेश प्राङ्गारिक बाली वस्तु उत्पादन र नियमनसम्बन्धी ऐनको मस्यौदा पनि गरिरहेको छ ।

त्यसैगरी मन्त्रालयले मुगुको खत्याड र सोरु गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको सिंजा क्षेत्र, हुम्लाको ओदानचुली र ताजाकोट गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रुकुमको आठबीसकोट नगरपालिका, सल्यानको कुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा प्राङ्गारिक नमूना प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.