विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्ने

रिपोर्ट नेपाल | 2018 Dec 19 | 03:00 pm 1832

गलकोट, पुस ४ :  बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् ।

आयोजनाले सूचक तय गरी बजेट बाँडफाँट गर्दा प्रति नगरपालिका करीब रु ७०–८० करोडको बजेट प्राप्त गर्नसक्ने नगरप्रमुख पौडेलले बताए ।बागलुङ नगरपालिकाको रिङरोडको रुपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसङ्ख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँट गरिने आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.