काठमाडौँ, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका रोहित पौडेललाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर हेन्डलमार्फत रोहितको कीर्तिमानले राष्ट्रलाई हर्षित बनाएको बताएका छन् । उनले भनेका छन्- ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।’
नेपालका युवा क्रिकेटर राेहितले दुबईमा शनिबार भएकाे खेलमा नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा ५८ बलमा ५५ रन बनाउँदै कीर्तिमान रचेका थिए । उनी सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने विश्वकै कीर्तिमानी क्रिकेटर बनेका छन् । राेहितकाे उमेर १६ वर्ष १४६ दिन मात्र छ ।
रोहितले ५८ बलमा ५५ रन बनाएर भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीमा भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको नाम थियाे । भारतका सचिन तेन्दुलकरले सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक (५९ रन) बनाएका थिए । त्याे बेला उनी १६ वर्ष २ सय १३ दिनका थिए ।
सन् १९९६ मा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए। त्यो बेला उनको उमेर १६ वर्ष २१७ दिन थियो।