विश्वकप फुटबलमा सट्टेबाजी लगाउने सात जनालाई सार्वजनिक मुद्दा

रिपोर्ट नेपाल | 2018 Jul 03 | 06:09 pm 4360

पोखरा, १९ असार : रुसमा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब डेढ हप्ताअघि विश्वकपमा हुने हारजितको विषयलाई लिएर प्रति व्यक्ति ५० हजार रुपियाँ सट्टेबाजी राख्नेलाई पोखरा लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको हो ।

सट्टेबाजी गरिरहेका सात जनालाई तीनलाख ५० हजार रुपियाँसहित पक्राउ गरी सबैलाई अपराध सम्बन्धी ऐन २०२८ अन्तरगत सार्वजनिक मुद्दा चलाएको छ । मुद्दा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङले भने “पक्राउ गरिएका सातै जनालाई सार्वजनिक अपराध मुद्दा चलाएका छौँ । उनीहरुमार्फत् ठूलो समूह समात्छौँ र अहिले समातिएकासहित सबैलाई जुवा तास नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाउँछौँ ।”

सट्टेवाजीमा बरामद भएको रकम भने कास्की प्रहरीले देखाएको छैन । पक्राउ परेकाहरुको नाम समेत प्रहरीले खुलाएको छैन । उनीहरूको नाम सार्वजनिक गरे सट्टेवाजी थाप्ने ठुलो समूह भाग्न सक्ने कास्की प्रहरी प्रवक्ता डिएसपी गुरुङले बताए । बाजी थाप्ने ठुलो समूह समातिएको अवस्थामा अहिले बरामद भएको रकम पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरिने समेत डिएसपी गुरुङले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.