मस्को २२ असार : फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।
खेल सुरु भएदेखि दुवै टोलीको आक्रामक खेल भए पनि उरुग्वेले गोल गर्न सकेन । फ्रान्सले पहिलो हाफको १६औं मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो। १६औं मिनेटमा काइलियन एमबाप्पे गोल गर्नबाट चुकेका थिए। फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो।
एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्याए। दुई गोलले अग्रता बनाएपछि फ्रान्सले रक्षात्मक खेल्यो। त्यसको विपरीत उरुग्वेले आक्रमकता देखाए पनि गोल भने गर्न सकेन।