काठमाडौं, पुस ४ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको दोष स्वीकार गरेको भनिएका विशाल चौधरी र प्रदिप रावलको डिएनए परीक्षण सम्पन्न भइसकेको छ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको थियो।
विभागले दुवैजनाको डिएनए कञ्चनपुर पठाएको दाबी गरेको भएपनि कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कठायतले उक्त रिपोर्ट आफूलाई प्राप्त नभएको बताएका छन्।
जिल्ला सरकारी वकिलको रोहबरमा खोल्ने भनि हिजो ( मंगलबार) नै कञ्चनपुर पठाइएको जानकारी विभागले सञ्चार माध्यमहरुलाई दिएको थियो।
‘डिएनए रिपोर्ट हिजै पठाएको कुरा थियो तर हामीले अहिलेसम्म प्राप्त गरेका छैनौँ,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने, आज दिउँसोसम्म प्राप्त हुन्छ कि?’
यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पनि ल्याबले हिजै डिएनए रिर्पोट पठाएको जानकारी दिएको बताए ।
उनले भने, ‘डीएनए रिर्पोट हिजो नै पठाएको कुरा थियो, तर जिल्लाबाट प्राप्त भइसकेको भनेर जानकारी आएको छैन।’
प्रहरीले कञ्चनपुरका जिल्ला सरकारी वलिकको रोहबरमा मात्रै डिएनए रिर्पाेट खोल्ने जनाएको छ। प्रहरी श्रोतलाई जनाउँदै दुवैजनाको डिएनए रिर्पोट नेगेटिभ आएको भन्दै समाचार बाहिर आइसकेको छ ।
स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको भए पनि नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए। त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टमा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो ।
तर, दुवै ल्याबमा परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको प्रहरी अधिकारीहरुले दाबी गरेका छन्। यो सँगै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा रहेका व्यक्तिहरु छुट्न सक्ने भएका छन् । उनीहरुलाई हाल प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेर राखेको छ । उनीमाथि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाएर हिरासतमा राखिएको थियो ।
उनले बयानमा आरोप स्वीकारेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् महाराजगञ्जस्थित ब्यूराको कार्यालयमा राति नै पुगेका बयान लिएका थिए।