काठमाडौं, वैशाख १४: रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाा पार्टीको नाम परिवर्तन हुने भएको छ । परिवर्तित नाम साझा विवेकशील पार्टी बनाउने निर्णय भएको संयोजक मिश्रले जानकारी दिए ।
पार्टीबाट फुटेर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्न नाम परिर्वतन गरिएको संयोजक मिश्रले बताए ।
अव पार्टीले भ्रष्टाचार विरुद्ध देशभर विभिन्न किसिमका अभियान संचालन गर्ने भएको छ । यही वैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै संयोजक रविन्द्र मिश्रले पार्टीले आउदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।
सरकारका विभिन्न निकायमा रहेका असक्षम नेतृत्वका कारण मुलुकमा सामाजिक रुपान्तरण र सम्मृद्धिको विषय झन पछि पर्दै गएको मिश्रले टिप्पणी गरे ।
हालै सरकारले गरेको लगानी सम्मेलनमा उद्योग मन्त्रीको प्रस्तुतीबाट नै सक्षम नेतृत्व चयनमा सरकारको असक्षमता प्रष्ट देखिएको उनको तर्क छ ।