धनुषा, मंसिर १६: जनकपुरधामको राम–जानकी विवाह पञ्चमी महा–महोत्सवमा सहभागी हुन आएका श्रद्धालु तथा सर्वसाधारणको पाकेट मार्ने ६१ जना पाकेटमारहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली नागरिक सहित भारतीय नागरिक रहेका छन् ।
विवाह पञ्चमीको लागि तयार पारिएको विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालन भएका सादा पोषाकका प्रहरीले ६१ जना पाकेटमारा चोरहरुलाई चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ पर्नेमा १३ जना नेपाली पुरुष तथा १ जना महिला छन् । यस्तै, २८ जना भारतीय पुरुष र १९ जना महिला छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका भारतीयहरु विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आएकाहरु पाइएका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान शुरु गरेको जनाए ।
भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरेपछि विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरको प्राङ्गणमा लत्ताकपडा, प्रसाद, दक्षिणा दिएर जन्तीको विदाइ गरे ।