बाँके, जेठ ७ः भेरी अस्पताल, नेपालगञ्जमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट विरामी ‘रिफर’ भएर आउने प्रमुख सेन्टरको रुपमा चिनिएको छ । कोरोना महामारी भएकाले अहिले त झन् भेरीमा विरामीको चापाचाप बढी नै रहेको छ ।
भेरीको कोरोना वार्डमा विरामी र कुरुवाको भीड थेगिनसक्नुको अवस्था रहेको छ । कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै स्थानीय प्रशासनले तीन हप्तादेखि निषेधाज्ञा लगाइरहेको छ ।बाहिरी होटल बन्द छन् । यस्तोमा अस्पतालमा आएका विरामी र कुरुवालाई खानाको समस्यामा परेका छन । विरामी र कुरुवाको यो विचल्ली देखेर सुन्दर काण्ड मित्र मण्डलले भेरी अस्पताल परिसरमै अन्जनी माता रसोई सञ्चालन गरिरहेको छ । यहाँ विहान र बेलुका प्रति छाक २० रुपैयामा खाना खान पाइन्छ ।
अस्पताल परिसरमै सस्तोमा खानाको व्यवस्था भएपछि कुरुवा र विरामीलाई ठूलो राहत मिलेको छ। मधेसी आयोगका सदस्यसमेत रहेका विजय गुप्ताको अगुवाईमा भेरी अस्पतालमा सस्तोमा खानाको व्यवस्था गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले खानाका लागि मासिक डेढ लाख रुपैया सहयोग गर्दै आएको छ । दुगड ग्रुपले २० दिनको लागि पुग्ने रासन सहयोग गर्न थालेको छ । जिल्ला भित्र र बाहिरबाट पनि सहयोग जुट्न थालेको छ ।
महामारीको बेलामा गतवर्ष पनि भेरीमा खाना खुवाइएको थियो । त्यतिबेला उपमहानगरपालिकाले मासिक ५० हजार दिने गरेको थियो । अरु अपुग रकम मण्डलले सरसहयोगबाट चलाइरहेको थियो ।
यो वर्ष कोरोनाको महामारी तीब्रगतिमा अघि बढेपछि खाना खानेहरु पनि बढेका छन् । शुरुवाती चरणमा विहानमात्रै खाना खुवाउने गरिएको थियो । बेलुका विरामी र कुरुवाको विचल्ली भएपछि साँझ पनि खाना खुवाउन शुरु गरिएको छ । नेपाल समाचारपत्रबाट