पर्सा, असोज १९ । चाडपर्व नजिकिदै गर्दा अपराधका घटना वृद्धि भइरहेका बेला प्रमुख व्यवसायिक शहर वीरगन्जमा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। वीरगन्ज महानगरपालिका-१, छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको प्रहरीले जनाएको छ ।
श्रीमान् रोजगारीका लागि भारत गएका कारण घरमा एक्लै बस्दै आएकी साहलाई आज विहान टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । साहको हत्या कसले गर्यो भन्ने विषयमा तत्काल केही नखुले पनि पोष्टमार्टम पछि सबै कुरा खुल्ने प्रहरीको भनाई छ । घाइते अवस्थामा रहेकी साहलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।