विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

रिपोर्ट नेपाल | 2018 Sep 10 | 08:58 am 1924

दक्षिण सुडान, भदौ २५: दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।

“आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताए।

उहाँले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए। एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन।

दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताए। मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ । दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् ।

विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताए। संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ ।

दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ। यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हँुदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।

सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.