विभिन्‍न ठाउँमा सात जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 14 | 12:58 pm 2440

काठमाडौं, साउन २९: मुलुकभर सोमबार राति र मंगलबार बिहान गरी विभिन्‍न स्थानमा सात जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३१ बानेश्वर प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका-१० घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्ण सोमबार मृत्यु भएको हो।

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी संखुवासभाको कालु गाउँपालिका-५ स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको ड्याम साईड निर्माणस्थलमा काम गर्दै गरेको अवस्थामा सोमबार भिरबाट खसेको ढुंगा लाग्दा गम्भीर घाइते भएका कालिकोट खाँडाचक्र नगरपालिका-१ घर भएका ३६ वर्षीय केशब शाहीको स्वास्थ्य चौकी नुममा उपचारको क्रममा मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी मन्दिर नजिक प्रतिक्षालयमा शंकरापुर नगरपालिका-३ जर्सिङपौवा घर भएका ६३ वर्षीय पूर्णबहादुर सुनुवार सोमबार मृत अवस्थामा फेला परेका छन्। काभ्रेको मण्डन देउपुर नगरपालिका-५ बस्ने ७७ बर्षीय नानीबाबु पुरी सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

डुबेर मृत्यु तीन जनाको ज्यान गयो

बाँकेको डुरुवा गाउँपालिका-५ खग्रहवा बस्ने २१ वर्षीय युगेश गिरी सोही स्थानमा रहेको खग्रहवा नालामा सोमबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ बस्ने कमल चौधरीको ३ वर्षीया छोरी नन्दनी चौधरी मोहना नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर असक्त भएकोले उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

महोत्तरीको गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने २२ वर्षीय दिपक सदाको सोही नगरपालिका-११ स्थित जंगल छेउमा रहेको सार्वजनिक पोखरीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.