काठमाडौँ, कात्तिक १० : सत्ता पक्ष दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताएका छन् ।
२०७५ को वडादशैँ, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताए ।
एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् । नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गरे ।
मुलुक राजनीतिकरुपमा नयाँ परिवेशमा प्रवेश गरेको र समाजवादको युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताए ।
अध्यक्ष दाहालसँग नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले आजै भेट गरेका छन् । भेटमा दुई देश र पार्टीबीचको सम्बन्धलाई अझै मजबुद बनाएर लैजाने विषयमा छलफल भएको बुझिएको छ ।