माेरङ, मंसिर २३ः सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।
हत्या हुनेमा मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठ रहेका छन् । उनको मंगलबार बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर विप्लव समूहले हत्या गरेको एसपी खड्काले बताए ।
चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या गरेको प्रहरीले बताएको छ । उक्त घटनापछि त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएकाे छ ।
शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको प्रहरीले बताएको छ ।
शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले बताए । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले आफूहरु पनि घटनास्थलतर्फ जाँदै गरेको बताए ।