रुकुम, साउन २२ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी ३९ वर्षीय हिरामणि रावल, जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर, विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा र पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती रहेका छन् ।
जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट उनीहरुलाई पक्राउ गरेको हो ।
लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
जाँच गर्दा राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।