दाङ, साउन २३ः नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । घर निर्माण पूरा गरेर उक्त पार्टीका नेताहरूले एक कार्यक्रमका बीच लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर हस्तान्तरण गरेका हुन् ।
चौधरी लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। पुरानाे घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैले नयाँ घर बनाएर दिएका हुन् । उक्त घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको विप्लव पार्टीले जनाएको छ । घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए ।