- मोतिलाल भण्डारी
युवा नेता
पार्टी संगठन निर्माण र सशक्त प्रतिपक्षको भूमिका निर्वाहमा चौतर्फी आलोचना खेपेको नेपाली काँग्रेसको बहुप्रतिक्षित महासमितिको बैठक विशेष परिस्थितिमा हुन गइरहेको छ ।
नेपाली राजनीतिको केन्द्र मानिने काँग्रेसले भावि दिनमा कस्तो नीति लिएर जनता माझमा जान्छ भनेर आम नेपाली मात्र नभएर विदेशीहरुले पनि नियालि रहेका छन् । काँग्रेस महासमिति सदस्यहरु पनि पार्टीलाई नयाँ जीवन प्राप्त गर्ने ऐतिहासिक महत्वपूर्ण थलो भएर होला उत्साहका साथ सहभागी भएका छन् ।
यस पटकको महासमिति बैठकमा सदस्यहरुले पार्टीले व्यहोर्नु परेको हारलाई निर्मम समीक्षाका साथ पार्टी नेतृत्वले गरेको गल्तीलाई चर्काे आलोचना गर्ने छन् । पार्टीभित्र भएका विकृति गुटगत स्वार्थ र पार्टी संचालनमा भएको दुरुपयोगलाई कडा रुपमा प्रस्तुत हुने देखिन्छ ।
महासमितिका प्रस्तुत हुने राजनैतिक, सांगठनिक र पार्टी विधानको संघीय संरचनामा आधारित ढाँचाका बारेमा गहिरो छलफल त हुन्छ नै तर पार्टीले लिने राजनैतिक, आर्थिक, देश, जनता र पार्टीको दिर्घकालिन भविष्यको बारेमा लिपिवद्ध दस्तावेज निर्माण कस्तो हुने भन्ने मा केन्द्रित रहेको छ । पार्टी केन्द्रीय समितिमा गुटगत स्वार्थको आधारमा झगडा भइरहँदा महासमिति पनि त्यसबाट अछुतो रहने छैन ।
तर नेताहरुले प्रस्तुत गर्ने विधानको मस्यौदाको मोडेल हेर्दा देश, पार्टी संगठन हेरेर भन्दा नेताहरुको अनुहार हेरेर बनाइएको देखिन्छ । पार्टीको हितभन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर विधान बनाइए यसले भविष्य राम्रो गर्दैन ।
देशकै जिम्मेवार पार्टी नेपाली काँग्रेसको विधात त प्राप्त अधिकारको रक्षा गर्दै देश, लोकतन्त्र र नेपाली काँग्रेसको भविष्यलाई केन्द्रमा राखेर प्रस्तुत हुनु पर्छ, नेताहरुको मुख हेरेर होइन ।
बदलिदो विश्वपरिवेशमा संसार आज एक गाउँ भएको छ । यस अवस्थाको नेपालको राजनीति यात्रालाई तिब्र विकासका रोलमोडेलहरु, नयाँ आयामहरु भित्र्याउँदै पार्टी संगठनको यात्रामा पनि शुद्धिकरण आवश्यक छ ।
विगतको नाराले भविष्य सम्बोधन हुन सक्दैन । काँग्रेसमा को कहाँ रहन्छ भन्ने चिन्ताभन्दा नयाँ नयाँ विचारहरुले नेतृत्व गरेर देश र नेपाली काँग्रेसलाई आसा जगाउने विधि, विधान र नेतृत्व चाहिएको छ । नेपाली युवाहरुलाई नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउनु एउटा जटिल सामर्थ्य नेपाली काँग्रेससँग हुनुपर्छ ।
त्यसको लागि थाकेका वृद्धभन्दा जागेका युवाहरुबाट परिवर्तन सम्भव छ । त्यतातिर पनि महासमितिले प्रवेश पाउँछ कि पाउँदैन भन्ने तमाम युवाहरुको चाँसो छ ।
काठमाडौंमा नेपाली काँग्रेसको महासमिति बैठक भइरहँदा यो बैठकको आसा र प्रतिबिम्ब विदेशमा श्रम गरेको युवालाई, कलेज वा स्कुलमा पढ्दै गरेको विद्यार्थीलाई नेपालका कुना, कन्दरामा श्रम गरेको श्रमिकलाई, व्यापारी, उद्योगी, कर्मचारी लगायत युवाहरुलाई आकर्षण गर्छ गर्दैन, कुनै पनि युवा विदेशतिर भन्दा नेपालमै बसेर काम गर्ने सपना देख्छ देख्दैन ? यी सवाल महासमितिको विषयवस्तु बन्नु पर्छ । यी सबैलाई जोड्न सक्ने संरक्षण गर्न सक्ने देश निर्माणको विधान काँग्रेस विधान बन्नु पर्छ ।
वर्तमान राजनीतिमा देखिएको संकटलाई समाधान गर्ने सामर्थ्य काँग्रेसले राख्नु पर्छ । किनकी काँग्रेसको विधान भनेको लोकतन्त्र शुद्धिकरणको विधान हो । देश निर्माणको विधान हो ।
तसर्थ महासमितिमा प्रस्तुत हुने विधान मस्यौदामा गम्भिर र निर्मम ढंगबाट छलफल गरी कठोर निर्णय गर्नुबाट महासमिति बैठक चुक्नु हुँदैन त्यसैले विधान संशोधन नेताको मुख हेरेर होइन कि देश, लोकतन्त्र र काँग्रेसलाई केन्द्रमा राखेर काँग्रेस विधान संशोधन र परिमार्जन गर्नुपर्छ । जय नेपाल !