काठमाडौं, चैत्र २७ : विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी आफूले माग गरेको रकम नदिए गोप्य भिडियो बनाई दिने भन्दै धम्किदिनेहरु सिआइबीको फन्दामा परेका छन् ।
प्राप्त समाचार अनुसार विभिन्न सर्वसाधारण ब्यक्तिहरुलाई टेक्स मेसेज र फोन सम्पर्क गरी माग गरेको रकम नदिएमा गोप्य भिडियो बनाई सार्वजनिक गरी वेईज्जत गरिदिने र ज्यान समेत मारिदिने भनी धम्की दिएको अभियोगमा प्रहरीले तिलकदाश पराजुली र प्रदिप रोकायालाई पक्राउ गरिएको छ ।
पक्राउ गरिएका व्यक्तिसँग अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु मध्ये धम्की दिने व्यक्तिले स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गर्ने गरेको सिआइबीले जनाएको छ । धम्काउनका लागि प्रयोग गरिएको मोबाईल नम्बरको सिम जिल्ला हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय प्रदिप रोकायले डिजे इन्टरनेशनल सामाखुशिबाट लिएको देखिएको र उनले प्राप्त गरेको सिम आर्थिक प्रलोभनमा परी तिलकदाश पराजुलीलाई दिएको बयानका क्रममा बताएका छन् ।
अभियुक्त पराजुलिले आर्थिक लाभ लिने उद्देश्यले उक्त सिमबाट राप्रपाका नेता एवम् संघिय संसदका सांसद राजेन्द्र लिङ्देनलाई समेत मेसेज पठाई धम्की दिएका थिए । पक्राउ गरिएकाहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको छ।