विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ

| 2023 Jul 04 | 05:09 pm 2313

रौतहट, असार १९ ।   रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा  प्रहरीले चार जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाहीका  ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवाका  ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका  ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३ सय  ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम सहित  उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान,  स्कुटर १ थान र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.