विद्यालय भर्ना अभियान प्रभावकारी

रिपोर्ट नेपाल | 2023 Apr 27 | 07:24 am 957

लहान, वैशाख १४ः सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ।  यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए। उनका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।

सामुदायिक विद्यालयप्रति बढ्दै गइरहेको जनगुनासोलाई ध्यानमा राखेर स्थानीय तहका शिक्षा शाखाले अनुगमनको माध्यमबाट शिक्षण कार्यलाई प्रभावकारी बनाउन थालेपछि लहानको ५९ वटै सामुदायिक विद्यालयमा भर्ना अभियानबाट सकारात्मक प्रभाव पर्ने लहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले बताए। उनले भने, “समयमा भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासहित विद्यालयलाई ब्यानर बनाएर दिनुका साथै विद्यालय क्षेत्रमा घरदैलो गरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिइने प्रतिबद्धता गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र वडास्तरीय जनप्रतिनिधिलाई समेत लिएर जान निर्देशन दिएका छौँ।”

लहान–१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुदीगाउँका प्रधानाध्यापक रङ्गलाल साह भन्छन्, “विद्यालय भर्ना अभियान घरदैलोमा पुग्दा शिक्षकशिक्षिकाले बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन अभिभावक आइरहेका छन्। यस वर्ष समयमै पाठ्यपुस्तक वितरण भएपछि विद्यार्थी र अभिभावक दुवै खुसी भएका छन्।”

“गाउँघरका विद्यार्थी बसमा चढेर सहरको बोर्डिङ स्कुलमा जाने गरेका थिए। केही वर्षयता विद्यालय भर्ना अभियानको माध्यमबाट अभिभावकलाई विश्वास, शैक्षिक र भौतिक सुधार गरेपछि सामुदायिक विद्यालयमा भर्ना गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ,” सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताए।

सामुदायिक विद्यालयको सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा र अभिभावकसमेतले ध्यान दिएपछि केही वर्षअघिको तुलनामा निकै सुधार हुँदै गइरहेको लहान–१३ का अभिभावक सियाराम यादवको बुझाइ छ। उनी थप्छन्, “सामुदायिक विद्यालयमा खाजा कार्यक्रम लागू भएपछि यसले राम्रो प्रभाव पारेको छ। खाजा कार्यक्रमको रकम प्रतिविद्यार्थी १५ रुपियाँ अति कम भयो। यस रकमलाई वृद्धि गर्न हाम्रो माग छ।” गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.