काठमाडौँ, माघ २८ : ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पत्र लेखेकी छन् । राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् ।

उनले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।
उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उक्त समस्याबाट बढी पीडित बनेका छन् ।
