विद्यालयमा छोरी बीमा कार्यक्रम शुभारम्भ गरिने

| 2019 Feb 21 | 07:22 am 2337

पर्सा, फागुन ९ :  वीरगंजस्थित रहेको त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिने भएको छ । प्रदेश नम्बर २ को सरकारले अभियानकै रुपमा ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अन्तर्गत उक्त कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

आर्थिक वर्ष २०७५/७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै ८९ करोड विनियोजन गरेको र सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको जानकारी दिए ।

यस अभियानको पहिलो चरणमा लक्षित वर्गलाई साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताए ।

प्रदेश २ मा रहेको आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ ।

प्रदेश नम्बर २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.