विद्यार्थी बिरामी भएपछि एक साताका लागि विद्यालय बन्द

रिपोर्ट नेपाल | 2020 Mar 03 | 03:09 pm 1717

धनकुटा, फागुन २०: अचानक विद्यार्थीहरू बिरामी पर्न थालेपछि चौविसे गाउँपालिका २ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालय बन्द गरिएको छ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले जानकारी दिए।

सो विद्यालय एक हप्ताका लागि बन्द गरिएको खतिवडाले बताए। बिरामी भएका विद्यार्थीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको र वडा नं २ का वडाध्यक्ष ममिन्द्र लिम्बूलाई समेत जानकारी गराइएको खतिवडाले बताए।

गत आइतबार मात्र २ जना विद्यार्थी कक्षाकोठामा झोक्रने, रुघाखोकीको समस्या देखिएको र त्यसको भोलिपल्ट सोमबार एकैदिन १२ जना बिरामी भएपछि भने विद्यालय नै बन्द गर्नु परेको अवस्था सिर्जना भएको विद्यालयका प्रधानाध्यापक महेश सिंहले जानकारी दिए।

बिरामी भएका विद्यार्थीहरूमा झोक्रने, खोकी लाग्ने, हिड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिने गरेको उनले जानकारी दिए।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक सिंहले बताए।

यसरी बिरामी हुनेमा सबै कक्षा १ देखि ३ सम्म सञ्चालन भएको विद्यार्थीहरु रहेका छन्।

विद्यालयमा गएर विद्यार्थीको जाँच गर्दा मौसमी रुघाखोकीको समस्या देखिएको मुढेबास स्वास्थ्य चौकीका इन्चार्ज योगराज लिम्बूले बताए।

विद्यालयमा देखिएको समस्या समाधानका लागि जिल्लास्तरमा सहकार्य गर्ने तयारी गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.